काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर तीन/तीन रुपैयाँ र खान पकाउने ग्यास (एलपीजी) प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
बुधबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ ।
मूल्यवृद्धिसंगै पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ, डिजेल/मट्टितेल ९८ रुपैयाँ र ग्यास १४ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ बढ्दा तेलको मूल्य बढेकोले निगमले मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
स्वचालित मूल्य समायोजन प्रणाली अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्य सुची अनुसार निगमले मूल्य समायोजन गरेको उनले बताए ।
डलरसंग नेपाली रुपैयाँ कमजोर हुँदा निगमले महंगोमा तेल आयात गर्नु परेको उनले बताए । मूल्य बढाउँदा पनि हालको मूल्य अनुसार निगमलार्इ मासिक ३० करोड रुपैयाँ भन्दा बढी घाटा हुने गोइतले बताए ।
प्रति डलर एक रुपैयाँ फरक पर्दा निगमले मासिक १५ करोड रुपैयाँ बढी तिर्नु पर्ने बताउदै अहिलेको डलर संग नेपाली रुपैयाँ कमजोर हुँदा निगमलाई आर्थिक भार परेंको गोइतले बताए ।