दमौली :तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिद्धथान सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन प्रेरणा दिँदै वनका उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गरेको छ ।
एक वर्षमा प्रत्येक घरधुरीले बाल्ने दाउराको लागतभन्दा ग्यास नै सस्तो पर्न जाने भएकाले सिलिण्डर वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दयमन्ती थापाले बताए ।
सोहीबमोजिम सामुदायिक वनले आफ्ना १४० धरधुरीलाई ग्यास चुलो वितरण गरेको अध्यक्ष थापाले जानकारी दिए । उनले वनको आम्दानीबाट प्रत्येक घरधुरीलाई एक÷एकवटा ग्यास चुलो वितरण गरिएको बताए ।
सामुदायिक वनका उपभोक्ताले वार्षिक १५ देखि ३० भारी दाउरा खपत गर्ने गर्छन् । ‘‘खाना पकाउन बर्सेनि वनमा ठूलो सङ्ख्यामा रुख काट्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘‘यसरी बर्सेनि रुख काट्दा वन नै सकिने अवस्था आएपछि ग्यास चुलो वितरण गरेका हौँ ।’’