काठमाडौँ: गोन्सालो रामोसको ह्याट्रिकमा स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।
लुसैल स्टेडियममा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पाखा लगाएको हो। यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ।
आजै भएको पहिलो खेलमा मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले हराउँदै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पोर्चुगलले बाँकी गोल दोस्रो हाफमा गर्यो।
पोर्चुगलको जितमा रामोसले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो। क्रिस्टियानो रोनाल्डोको स्थान लिदै सुरुवाती ११ मा स्थान बनाएका रामोसले खेलको १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याटिक पुरा गरे।
खेलको १७ औँ मिनेटमा रामोसको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो। रामोसले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए। ३३ औँ मिनेटमा कप्तान पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।
