काठमाडौँ: नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमूल्य घटेको छ।
राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न एकीकृत निर्देशिका संशोधन गर्यो।
संशोधित व्यवस्थाअनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ।
लाभांश लिन योग्य रकम १५ प्रतिशतभन्दा माथि भएमा त्यस्तो रकमको ५० प्रतिशत जगेडा कोषमा जम्मा गरेर बाँकी ५० प्रतिशतको मात्रै लाभांश वितरण गर्नुपर्ने भएको हो।
यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।
बिहीबार लघुवित्तको सेयरमा बिक्रीकर्ताको चाप धेरै भयो तर खरिदकर्ता नहुँदा सेयरमूल्य उच्च दरमा घटेको हो। जसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ।
यस दिन ४० भन्दा बढी लघुवित्त कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।
बिहीबार नेप्से परिसूचक ५४.७४ अंकले घटेको छ। यस दिन नेप्से २.७८ प्रतिशतले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ पुगेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ। यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.०८ प्रतिशतले घटेको छ।
यसैगरी, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।
