काठमाडौँ: सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि विकास बैंक लिमिटेडले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेलाई सहयोग गरेको छ ।
कीर्तिपुरस्थित गुतपौ टोलमा एक विशेष कार्यक्रम वीच कृषि विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदीले जह्रुँ गाः हाथु भैरब पूनः स्थापनार्थ कीर्तिपुर कम्यूनिटी होमस्टेका अध्यक्ष प्रदिप महर्जनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सो अवसरमा सुवेदीले दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका थिए ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले उक्त जह्रुँगाः र हाथु भैरबसँगै नेवा परम्परागत शैलीमा अन्तीबाट अय्ला राख्दै गरेको नेवा मैंचाको मूर्ती स्थापनार्थ कृषि विकास बैंकको सहयोग सराहनीय रहेको बताए ।
उक्त अवसरमा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शाक्य तथा कृषि विकास बैंकका प्रमुख सञ्चालन अधिकृत सुवेदीले भैरब, जह्रुँगाः हिति र नेवा मैचाको अनावरण तथा उद्घाटनगरेका थिए ।
आयोजकका अनुसार यो भैरव र जह्रुँगाः को स्थापनाले करिव ४० वर्षदेखि वन्द रहेका हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) प्रचलन पुनः सुरु हुने बताएका छन् ।
यो हाथु हाय्केगु पर्व इन्द्र जात्राको भोली पल्ट समय् बजी पून्ही (पूर्णिमा) को दिनमा सबै टोलबासीहरु भेला भएर समयबजी बाँडेर हाथु हाय्केगु (भैरबको मुखबाट जाँडको धारा बगाउने) र जाँड खुवाने गरिन्छ ।
यसले गर्दा आफ्ना पितृहरुले स्वर्गमा राम्रो भोजन प्राप्त गर्ने विश्वास गरिन्छ ।
यसरी पुरातात्वीक महत्व बोकेको उक्त शहरमा पुरातात्वीक सम्पदाको संरक्षणमा कृषि विकास बैंकको सहयोगलाई सर्वसाधारणले खुलेर प्रशंसा गरेका थिए ।
