काठमाडौं :युनिलिभरले लाभांश घोषणा गरेर पनि लामो समयसम्म जानकारी नगराएको भन्दै कम्पनी व्यवस्थापनसँग नेपाल स्टक एक्सचेन्जले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेप्सेले युनिलिभर नेपाल लिमिटेडको सेयर सूचीकरण स्थगन गरेको छ । यस निर्णयसँगै कम्पनीको सेयर कारोबार समेत रोक्का भएको छ ।
युनिलिभर नेपाल लिमिटेडले भदौ १२ गते सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई ७०० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर यो निर्णय भदौ २८ गतेमात्र नेप्सेमा जानकारी गराइएको थियो ।
सेयर मूल्यमा प्रभाव पार्ने यस्ता संवेदनशील सूचनाहरु तत्काल जानकारी गराउनुपर्ने कानुनी प्रावधानको बर्खिलाप गरी कम्पनीले निकै ढिलो गरेर मात्र जानकारी गराएकाले सेयर सूचीकरण नै स्थगन गरी स्पष्टीकरण प्रक्रिया अघि बढाइएको नेप्सेले जानकारी दिएको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड (ङ) बमोजिम युनिलिभरले नियम उल्लंघन गरेकाले त्यसको कारण खुलाएर जवाफ पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ । कम्पनी लगायत पदाधिकारीहरुलाई विद्यमान नियम कानुन अनुसार कारवाही किन नगर्ने ? भन्दै पत्र प्राप्त भएको २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न समेत निर्देशन दिइएको छ ।