काठमाडौँ: देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना छ भने कतिपय स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
बुलेटिनअनुसार राति कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

