काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य भएको बताएका छन् ।
बुधबार कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीसँगको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए ।
उनले भने, “नेपालमा शुद्ध पिउने पानीको पर्याप्त श्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना छ ।”
नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए ।
Laxmi sunrise bank
भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए ।
Shivam Cement
नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।”
प्रधानमन्त्री प्रचण्डले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचीमा नेपाललाई समावेश गर्न आग्रह गरे ।
Nabil bank
उनले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने पनि सो क्रममा जोड दिए ।
कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिए । उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे ।
नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए ।
“कतार नेपालको विश्वासिलो मित्रका रुपमा रहेको छ,” प्रधानमन्त्रीले भने, “हाम्रो सम्बन्ध प्रगाढ र विस्तार हुँदै गएको छ । यो सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित छैन, जनताको तहमा पनि विस्तार भएको छ ।” उनले दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाईमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरे । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् ।
“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने ।
नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुबै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करीब ४ लाख नेपालीहरू द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालीम र सीपविकास केन्द्रहरू स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।
नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।”
प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकशित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षाहरू पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्थाहरु वा अन्तराष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाहरूको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गरे ।
