काठमाडौँ: नेपालि सेनाको सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका वडा नं.१३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन श्रावण ४ गते अर्थात शुक्रबारबाट संचालनमा आएको छ।
पेट्रोल पम्पको उद्धघाटन प्रधान सेनापति महारथी प्रभुराम शर्माले एक समारोहकाबीच समुद्घाटन गरेका थिए ।
यसैगरी आजै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहकोसमेत समुद्घाटन गरेका छन्।
पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् ।
नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।
नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्य सहित उक्त फ्युल स्टेसनहरू सञ्चालनमा रहेका छन् ।
समुद्घाटन समारोहहरूमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका पदाधिकारीहरू, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिहरूको उपस्थिति थियो ।
