काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । *सच्याइएको (सम्पादक)
विमानमा कुल १९ जना सवार थिए ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११:१४ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।
जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइन्दै थियो । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
