काठमाडौँ : नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ले निवेदन दर्ता गरेकी छन् ।
गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् ।
उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलप्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहना राखेर निवेदन दिएको दाबी गरेकी छन् ।
उनले हस्तलिखित निवेदन उच्च सरकारी वकिल कार्यालयमा पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे । उनले निवेदनबारे थप टिप्पणी भने नगर्ने बताए ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउँदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।
पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको थियो । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर थियो ।
के छ पत्रमा ?
पीडितले लेखेको पत्रमा आफूले यो मुद्दा सुरु भएदेखि धेरै तनाव खेपेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको दाबी गरेकी छन् । उनले आफूले न्यायका लागि धेरै सङ्घर्ष गरेको तर यो क्रममा धेरै तनाव र दुःख समेत झेलेकोले अब विवादभन्दा अलि पर रहेर बस्न चाहेकाले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई समाजबाट धम्की आउने क्रम अहिले पनि जारी रहेको र यसका कारण अध्ययनमा पनि असर परेको दाबी गरेकी छन् । उनले आफू अब आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको र मुद्दाको रूपमा धाउन नसक्ने भएकाले सर्वोच्च अदालतमा पुनरावेदन नगरी दिन उनले अनुरोध गरेकी छन् ।
उनले लामिछानेसँगको भेटदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफूले असह्य पीडा भोगेको र समाजबाट पनि धेरै कुरा सिकेको भन्दै अब दबाब थेग्न नसक्ने अवस्थामा पुगेकाले निवेदन दिएको र साथै आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् ।
पीडितको निवेदनलाई उच्च सरकारी वकिल कार्यालयले दर्ता गरेर राखेको छ। यद्यपि उक्त मुद्दा सर्वोच्चमा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारे हालसम्म उच्च सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको छैन ।
भर्खर मिसिल र फैसलाको पूर्णपाठ प्राप्त भएकाले केही दिन अध्ययन गर्ने अनिमात्र पुनरावेदनबारे निर्णय लिइने उच्च सरकारी वकिल कार्यालयका प्रमुख खत्रीले बताए ।