काठमाडौँ: त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रु खोजीमा सघाउन भारतबाट आएको उद्धार टोली आज (आइतबार) स्वदेश फर्किएका छन् ।
एक हप्ताको समय लिएर भारतबाट शनिबार (साउन ५ गते) चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किने भएको हो।
यसबीच उसले बेपत्ता न बस, न यात्रु केही पनि फेला पार्न सकेन।
गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।
बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए। तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।