सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले बताइन्।
‘अहिले नदीको सतह केही घटेको खबर आएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर पठाउनका लागि पनि प्रयास गर्दैछौँ। तर, मौसम अत्यन्तै प्रतिकुल बन्दै गइरहेको छ।’
उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार थालिसकेको छ भने नेपाल प्रहरी र सशस्त्रको टोली पनि पुग्दैछ।
शुक्रबार दिउँसो पौने २ बजे आएको बाढीका कारण २० बढी घर पुरिएको अनुमान गरिएको छ। यद्यपि थप विवरण संकलन हुने क्रम जारी रहेको प्रहरीले बताएको छ।
बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।
खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।
