काठमाडौँ: हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ।
हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ।
कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी अहिले बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ।
मधेश प्रदेशका एकदुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभरको मौसम साधारणतया बदली रहने छ।
सबै प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
