काठमाडौँ: नेपाल पूर्वाधार सम्मेलन आगामी भदौ २७ र २८ गते हुने भएको छ । रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सिएनआई) आयोजक एवं लगानी बोर्डको कार्यालय र वाईसीएनसी सहआयोजक रही नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण २०८१ आयोजना हुने भएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागेको बताए । पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए ।
लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरु पूर्वाधार सम्मेलनमा पनि राखिने बताए । सार्वजनिक निजी साँझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको बताए ।
पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।
‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए । सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरुबाट प्रस्तुती हुनेछ ।
साथै विभिन्न प्रदेश तथा महानगरपालिकाहरुले अगाडि बढाएका परियोेजनाहरुको प्रोजेक्ट सोकेस पनि हुनेछ ।
यस्तै छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरु, लगानीकर्ताहरुको सहभागिता रहनेछ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइनेछ ।
दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
सिएनआईले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ ।
पूर्वाधार सम्बन्धी महत्वपूर्ण यस सम्मेलनमा पूर्वाधारप्रेमी, विकासप्रेमी व्यक्ति तथा सरोकारवाला संस्थाहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।
