काठमाडौँ:
सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ।
दुई डीआईजीसहित १२ जना अधिकारीले दिएको रिट बिहीबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो।
३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूहरुलाई सेवामा निरन्तरता दिन माग गरेका थिए।
सो रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले रिट खारेज गरिदिएको हो।
रिट दायर गर्नेमा डीआईजी दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरी रहेका छन्।
