काठमाडौं: इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ ।
बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको छ । यी दुईवटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।
नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताउनुभयो । प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताउनुभयो ।
Trending
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
