रसुवा–नुवाकोटदेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सैनिक परिचालन, तीनवटा हाइड्रोका टनेलमा विदेशी विज्ञसहित खोजी तीव्र
काठमाडौं । बाढीपहिरोले तहसनहस बनाएको रसुवा, नुवाकोटसहितका प्रभावित क्षेत्रमा मानवीय उद्धारको प्रयास अझै तीव्र पारिएको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र हराइरहेका वा फसेका हुनसक्ने व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै नेपाली सेनाले विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरेको छ।
आज २०८३ भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट मात्रै २३ जनाको उद्धार गरेको छ। यसअघि बाढीपछि तत्काल गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।

टनेलभित्र पस्दै उद्धार टोली, सयौं मिटरभित्र खोजी
हराइरहेका व्यक्तिको खोजीका लागि जलविद्युत् आयोजनाका सुरुङभित्र उद्धार टोली प्रवेश गरिरहेको छ।
चिलिमे हाइड्रोको टनेलभित्र विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली करिब ५० मिटरसम्म प्रवेश गरेर खोजीमा जुटेको छ।
त्यस्तै लाङटाङ हाइड्रोको सुरुङमा टोली करिब १५० मिटरसम्म पुगेको छ भने अपर त्रिशूली–१ हाइड्रोको टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरेर खोजी भइरहेको छ।
सुरुङभित्रको अवस्था जटिल रहेकाले उद्धार टोलीले उच्च सावधानी अपनाउँदै खोजी अघि बढाइरहेको छ।
त्रिशूली–३ एमा टनेलको बाटो खोल्ने प्रयास
त्रिशूली–३ ए आयोजनामा उद्धारका लागि महत्वपूर्ण प्रगति भएको छ। उद्धार टोलीले टनेल हेड फेला पारेको छ भने कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ।
सुरुङभित्र जम्मा भएको पानी निकाल्ने कार्यसमेत जारी छ। यसका लागि तीनवटा एक्स्काभेटर प्रयोग गरिएको छ।
त्यसैगरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। सुरुङभित्र प्रवेश गर्न सकिने स्थान तयार पार्न रक ब्रेकर प्रयोग गरी ढुंगा फुटाउने काम पनि भइरहेको छ।
त्रिशूली–३ बीमा पनि प्रवेशद्वार खोजिँदै
त्रिशूली–३ बीमा समेत विज्ञसहितको नेपाली सेनाको टोली खटिएको छ। सुरुङभित्र प्रवेश गर्न सकिने प्रवेशद्वार पत्ता लगाएर उत्खननको काम भइरहेको छ। आवश्यक स्थानमा एक्स्काभेटरसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।
९ हजारभन्दा बढी सैनिक मैदानमा
बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म ९ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
सेनाका टोलीहरूले जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझिरहेका छन्। उद्धार आवश्यकताको मूल्याङ्कनसँगै घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारको कामसमेत जारी छ।
प्रभावित क्षेत्रमा संक्रमण रोक्न डिसइन्फेक्सन
बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम कम गर्न विभिन्न स्थानमा डिसइन्फेक्सन अभियानसमेत सञ्चालन गरिएको छ।
धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा पृथ्वीचन्द्र अस्पताल, परासीको शव सङ्कलन केन्द्र, सुनवल–४ र मुलपानी सामुदायिक वनस्थित शव व्यवस्थापन क्षेत्रमा डिसइन्फेक्सन गरिएको छ।
अन्य प्रभावित स्थानमा पनि स्थानीय तहसँग समन्वय गरी डिसइन्फेक्सनको काम अघि बढाउने तयारी भइरहेको छ।
सुरुङभित्र सयौं मिटर गहिराइसम्म पुगेर खोजी जारी रहँदा उद्धार टोलीको प्रयास अब हराइरहेका व्यक्तिको अवस्थाबारे निर्णायक जानकारी निकाल्ने दिशामा केन्द्रित भएको छ।
