काठमाडौँ । देशभरका प्रमुख नदीमा हाल पानीको बहाब सतर्कता तहभन्दा तल रहे पनि वर्षा जारी रहेकाले बहाब बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित तिनका सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल छ। तर विभिन्न स्थानमा भइरहेको वर्षाका कारण यी नदीमा पानीको सतह क्रमशः बढ्न सक्ने अनुमान गरिएको छ।
यसैगरी, कोसीदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाब उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ उपत्यकाका तीन जिल्ला, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चुलालगायतका जिल्लामा साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले बिहानी बुलेटिनमार्फत जनाएको छ।
