काठमाडौं असोज २९ । लगातार पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बिहीबार पनि सकारात्मक गति कायम राखेको छ। यस दिन नेप्से ४.५६ अंकले बढेर २६२५.९३ विन्दुमा बन्द भएको छ। परिसूचकसँगै शेयर कारोबार रकममा समेत वृद्धि भएको छ।
बुधबार ४ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता शेयर कारोबारमा किनबेच भएका छन्।
कारोबारमा बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ४० रुपैयाँ ९० पैसाले बढेर ३१३ रुपैयाँ ९० पैसा पुगेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य र लक्ष्मी उन्नति कोषको इकाइ मूल्य पनि करिब साढे ६ प्रतिशत बढेका छन्।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। अपि पावर कम्पनी र घलेम्दी हाइड्रोको कारोबार पनि उच्च रह्यो।
१३ उपसमूहमध्ये नौवटाको परिसूचक बढ्दा चारवटाको घटेको छ। वित्त उपसमूह सर्वाधिक १।०३ प्रतिशतले बढेको छ।
