काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फेरि सरकारको नेतृत्वमा फर्किने दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेका छन्।
काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले पुनः सरकारमा जाने र यसअघि अघि सारेका विकासका योजनालाई निरन्तरता दिने बताएका हुन्।
एमाले कुनै राजनीतिक शक्तिको कृपा वा आशीर्वादले नभई जनताको समर्थन र पार्टीको आफ्नै संघर्षबाट सरकारमा पुगेको उनको दाबी थियो।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ भन्दै ओलीले आफ्नो पार्टीको राजनीतिक पुनरागमनबारे खुलेरै अभिव्यक्ति दिएका छन्।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यबाट एमाले पछि नहट्ने पनि बताए।

