काठमाडौँ: भक्तपुरको पान्डुबजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा काभ्रेपलाञ्चोक दराउने पोखरी–२ घर भएका रामकृष्ण श्रेष्ठको मृत्यु भएको छ।
भक्तपुर जगातेबाट सल्लाघारी आउँदै गरेको बा. ४ ख ३६५० नम्बरको टिपरले बा. ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको र टिपरका चालक फरार रहेको महानगरी प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घटना पछि आक्रोसित स्थानीयले टिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएर टिपरका चालक फरार भएको हो । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोसित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउन खोज्दा आक्रोसित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताए । प्रहरीको लाठीचार्जबाट आक्रोसित भीडले ढुङ्गाहानेपछि सूर्यविनायक क्षेत्र राति ८ः३० बजेसम्म तनावग्रस्त बनेको छ ।
आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भीडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको हो । राति ८ः३० बजेसम्म अश्रुग्यास हानेर भीड तितरवितर बनाएपछि दमकलले आगो निभएको छ ।