काठमाडौं: एनआइसी एसिया बैंकले अष्ट्रेलियन डलरको सटही सुविधा सुरु गरेको छ।
बैंकले विभिन्न कामका विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा सरल सटही सुविधा उपलब्ध गराएको हो।
अष्ट्रेलियन डलरको सटहीले पढाईका लागि अष्ट्रेलिया जाने नेपालीलाई सहज हुने बैंकको विश्वास छ।
बैंकका अनुसार अध्ययन तथा भ्रमण लगायतका अन्य कामका अष्ट्रेलिया जाने ग्राहकहरूले डलर खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट लिएर सम्पर्क गर्नुपर्नेछ।
प्रक्रिया पुर्याएका ग्राहकले भिसा युएसडी प्रिपेड कार्डसमेत खरिद गर्न सक्नेछन् । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध गराएको छ ।
हालका लागि काठमाडौं उपत्यका भित्रका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहज रूपमा विदेशी मुद्रा उपलब्ध हुने व्यवस्था मिलाएको छ । एनआइसी एसियाले देशभर २५६ शाखा, २४९ एटीएम, २२ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिंङमार्फत सेवा दिँदै आएको छ ।