काठमाडौँ: निजी क्षेत्रको निर्जीवन बिमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बेलायतको युनाइटेड रजिस्टर सिस्टम्स लिमिटेडबाट आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।
कम्पनीले विगतका वर्षको ग्राहक सन्तुष्टि, प्रिमियम संकलन, दाबी भुक्तानी, उत्कृष्टता र गुणस्तर व्यवस्थापन मूल्यांकनको आधारमा उक्त प्रमाण प्राप्त गरेको कम्पनीले जनाएको छ ।
प्रुडेन्सियल १६ वर्षदेखि नेपालमा निर्जीवन बिमा सेवा प्रदान गर्दै आएको कम्पनी हो । यसले कर्पोरेटसहित ४६ वटा शाखा कार्यालयमार्फत मेचीदेखि महाकालीसम्म निर्जीवन बिमा सेवा प्रदान गरिरहेको छ ।
चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको यो कम्पनीले सवारी, समुद्री कार्गो, मेडिकल र स्वास्थ्य, माइक्रो, ज्वेलरी ब्लक, अग्नि लगायत बिमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले यसअघि आइएसओ ९००१ः२००८ प्रमाणपत्र प्राप्त गरेको थियो ।