काठमाडौँ: संघिय संसदमा विचाराधीन नागरिकतासम्बन्धि विधेयकमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोवास गर्ने गैरआवासीय नेपाली नागरिकलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ।
सांसदहरु प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठुलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दावी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने चिन्ता सरकारी अधिकारीहरु प्रकट गर्छन।
सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूल्कका लाखौँ मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरिकताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठुलो उठापुथल आउँछ,’ कानुनसेवाका एक उच्च अधिकारीले भने, संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंबैधानिक छ।’
संविधानको धारा १४ मा ‘सार्क बाहेकका देशमा बसोबास गरेका’ नेपाली र तिनका सन्तानलाई मात्र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ।
यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले पहिलो पृष्ठमा लेखेका छन् ।