काठमाडौं, मङ्सिर ९। काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीले सरकारको सूचना अस्वीकार गर्ने बताएका छन्।
सरकारले शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बस्दै आएका सुकुमवासीले आफूहरू उक्त स्थान नछाड्ने अडान लिएका हुन्। हाल उक्त सेन्टरमा ५९ जना बसिरहेका छन्।
सेन्टरमा बस्दै आएका सञ्जय चौधरीले सरकारले दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन्। उनका अनुसार गत बिहीबार पनि जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट आएको टोलीले मौखिक रूपमा सेन्टर खाली गर्न जानकारी गराएको थियो।
चौधरीले आफूहरूलाई आफू बसेको स्थानबाट हटाएर अन्यत्र व्यवस्थापन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए। आफूहरूलाई जहाँबाट ल्याइएको हो, त्यहीँ फर्काउनुपर्ने वा त्यसको आसपासमा जग्गा उपलब्ध गराउनुपर्ने उनको माग छ।
“जहाँ मन लाग्यो त्यहीँ जग्गा दिएर हुन्छरु हामीलाई जहाँबाट ल्याएको हो, त्यहीँ लैजानुपर्यो। कि त त्यतै वरिपरि जग्गा दिनुपर्यो,” चौधरीले भने।
सरकारले उपलब्ध गराउने घरभाडा खर्चसमेत नलिने निर्णय गरेको उनले बताए। प्रशासनले सूचना टाँसे पनि आफूहरू होल्डिङ सेन्टर नछाड्ने उनको भनाइ छ।
सरकारले भने जग्गा भएका तथा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेका परिवारलाई होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। तर, आफूहरूलाई उपयुक्त स्थानमा व्यवस्थापन नगरी हटाउन खोजिएको भन्दै त्यहाँ रहेका सुकुमवासीले असन्तुष्टि जनाएका छन्।

