काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा नअल्झिइ विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाकाबारेमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित समीक्षा बैठकमा उनले मन्त्री र सचिवलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदन मात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकाले परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।
तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभई कार्यान्वयनको अवस्थाको जानकारीका लागि भएको बताउँदै उनले वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनैपर्ने भएकाले त्यसैअनुसार काम गर्न सबैमा आग्रह गरे ।
“यो बैठक परिकल्पनाको समीक्षा होइन, सरकारका नीति, कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो”, प्रधानमन्त्री ओलीले भने, “मन्त्रालय केही न केही रचनात्मक हुन खोजेका छन्, कार्यान्वयनको राम्रै शुरुआत भएको छ, तर यसलाई तीव्रता दिनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले सफल हुनका लागि सबै अवयवलाई चुस्त बनाउनु पर्ने र हरेक कुराको परिणाम देखिनु पर्नेमा जोड दिदैं अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवलाई निर्देशन पनि दिए ।
सरकारले मितव्ययी नीति लिएकाले हरेक कुरा कम खर्चमा सम्पन्न गर्नु जरुरी रहेको पनि उनले बताए ।
आजको समीक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए ।
यसैगरी रक्षा सचिव विष्णुप्रसाद लम्साल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए ।
बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पनि आफ्ना भनाइ राखेका थिए ।