काठमाडौं: पछिल्लो केहि सातादेखि अमेरिकी डलर घट्ने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ डलर बराबर १११ रुपैयाँ ६५ पैसा बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ मजवुत भएका कारण यसको असर नेपालमा परेको हो ।
असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो । पछिल्लो दुई महिनमा प्रति डलर नेपाली ७ रुपैयाँ ६८ पैसाले घटेको छ ।
डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्राको अवमूल्यन भएको थियो भने हाल भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुँदै गएको हो । भारुसँग नेपाली रुपैयाँ फिक्स भएपछि भारतीय मुद्राको अवस्था जे हुन्छ, त्यसको असर नेपाली मुद्रामा पनि पर्ने गरेको छ । भारु मजवुत भए नेपाली रुपैयाँ पनि मजवुत हुन्छ ।
विश्वव्यापी रूपमा डलर कमजोर हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि उनले लिएका नीतिका कारण अमेरिकामा लगानी बढ्न गई डलर मजबुत भएपनि पछिल्लो समयमा उनको नीति दिर्घकालिन समयसम्म टिक्ने कुरामा लगानीकर्ता आशाबादी नभएकोले डलरको माग घटना गई डलर कमजोर भएको उनको भनाइ छ ।
त्यसैगरी, भारत सरकार र भारतीय केन्द्रीय बैंक ( रिजर्भले बैंक अफ इंडिया) भएको विवादपनि मिलेकोले गर्दा भारतीय रुपैयाँ मजबुत हुदै गएकोले यसको असर नेपाली रुपैयाँमा परेको उनले बताए ।
विश्व बजारमा तेलको मूल्य पनि घटेकोले गर्दा डलर कमजोर हुँदै गएको उनको तर्क छ ।
उनले भने- ‘अहिलेको अवस्थालाई हेर्दा डलर अझ कमजोर भई एउटा बिन्दुमा गएर रहेने देखिन्छ ।’