काठमाडौं : वाइडबडी प्रकरणबारे संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमसँग लिखित जवाफका लागि ३८ प्रश्न तयार गरेको छ। समितिले निगमलाई बुधबार प्रश्न पठाउने भएको हो।
वाइडबडीको खरिद प्रक्रिया र अनियमितता सम्बन्धमा सांसदले उठाएका प्रश्न समेटेर निगमसँग जवाफ मागिएको समिति सभापति भरत शाहले जानकारी दिए। ‘हामीले प्रश्न तयार गरिसकेका छौं, यसमा छाँटकाँट हुनसक्छ’, शाहले भने, ‘भोलि (बुधबार) समिति बैठक बसेपछि निगमलाई लिखित प्रश्न पठाउँछौं।’ उनले निगमलाई जवाफका लागि बढीमा तीन दिनको समय दिइने जनाए।
निगमले ल्याएका दुई वटा वाइडबडी विमानबारे समितिले अध्ययन गरिरहेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, निगमका पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग छलफल गरिसकेको समितिले बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई छलफलमा बोलाएको छ।
निगमको लिखित जवाफपछि वाइडबडीबारे निर्णयमा पुग्ने समितिले जनाएको छ। ‘हामी यसमा लामो समय खर्चंदैनौं, निगमको जवाफ अध्ययन गरेपछि चाँडै निष्कर्षमा पुग्छौं’, सभापति शाहले भने, ‘बढीमा एक दुई साता लाग्ला।’
संसद्कै अर्काे समिति अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वाइडबडीबारे अध्ययन गरिरहेको छ। समितिले कांग्रेस नेता प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति बनाएको थियो। संयोजक बस्न नेता सिंहले अस्वीकार गरेपछि उपसमितिले काम सुरु गर्न सकेको छैन। संयोजक परिवर्तन गरेर उपसमितिलाई पाँच सदस्य बनाउने समिति सभापति पवित्रा निरौला(खरेल)ले जानकारी दिइन्।
सांसदहरूले जहाजको स्वामित्वबारे शंका उब्जिएको भन्दै छानबिनको माग गरेका थिए। जहाज किनेको हो वा भाडामा लिइएको भन्ने यकिन नभएको सांसदको भनाइ छ। उनीहरूले निगम डुबाउने गरी आर्थिक लाभ लिन विमान ल्याइएको भन्दै सरकारको आलोचना गरेका छन्।
‘निगम टाट पल्टिने गरी जहाज ल्याउनुले त्यहाँ अनियमिता छ भन्नेमा कुनै शंका छैन’, लेखा समिति सदस्य हृदयेश त्रिपाठीले भने, ‘निगमको बजार अध्ययन नै नगरी विमान ल्याइयो, केही व्यक्तिले आर्थिक लाभ लिने गरी विमान ल्याएर निगम डुबाउने काम भयो।’ उनले वाइडबडी प्रकरणलाई नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै दोषीलाई कारवाही गर्न समितिले निर्देशन दिने स्पष्ट पारे।
यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।