काठमाडौँ: उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिकामा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गरेका छन्।
जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा रु छ अर्बको लगानीमा सो मन्दिर निर्माण गर्न लागेको हो ।
प्रतिष्ठानका अनुसार मन्दिर इटालियन मार्वलबाट कलात्मक बन्नेछ । मन्दिरको ताम्रपत्र अनावरण गर्दै उपराष्ट्रपति पुनले मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास व्यक्त गरे । उनले नेपालको धार्मिक सहिष्णुता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विस्तार गर्न राधाकृष्ण मन्दिरको निर्माणले सहयोग गर्ने बताए। कार्यक्रममा जगदगुरु कृपालु परिषद्का प्रचारिकका डा बागेश्वरी देवीलगायतलाई चाँदीमा कुदिएको सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जगदगुरु श्री कृपालु महाराजको पुस्तक ‘प्रेम रस सिद्धान्त’ विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेलले ऐतिहासिक राधाकृष्ण मन्दिर कङ्क्रिटको प्रयोग नगरी चार वर्षभित्र निर्माण पूरा गर्ने जानकारी दिए ।