काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीका आरोपको विषयमा छानविन गर्न माग गरेको छ।
राजदूत शेर्पामाथि लागेको आरोपलाई गम्भीर रुपमा लिएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति जारी गर्दै शेर्पामाथिका आरोपको छानविनका लािग परराष्ट्र मन्त्रालयमा तत्काल उपस्थित गराउन माग गरेको छ। ‘दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ।
राजदूतकै निजी सहयोगीबाट आरोप लागेको एक साताभन्दा धेरै भैसक्दा समेत आरोपप्रति सरकार उदासिन भएको कांग्रेसले आरोप लगाएको छ।
‘निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले अझै गम्भीर र दुःखद रुपमा लिएका छौं,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गत साता एक टेलिभिजन कार्यक्रममा राजदूत शेर्पाका पहिलेका निजी सहयोगी रहेका एक व्यक्तिले उनीमाथि मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए।
‘राजदूत व्यक्तिगत जागिर नभइ सिंगो राष्ट्र र राष्ट्रको छविको प्रतिनिधित्व गर्ने गरिमायम जिम्मेवारी समेत हो’ विज्ञप्तिमा भनिएको छ।