काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन्।
नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उनले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाउनुभएको हो । उनले भने, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।”
यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उनले जानकारी गराए । उनले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास गरिने बताए ।
गृहमन्त्री थापाले मुलुकको चाँडो विकास गर्न ऊर्जा र यातायातका माध्यमबाट सम्भव रहेको धारणा राखे। “मुलुकमा समृद्ध मानिस र सुखी मानिस पनि नभएका होइनन् तर ती मानिस आलोपालो प्रणालीको कारण आफूमात्र समृद्ध र सुखी भएका छन्” उनले भने, “अब सबै नेपालीलाई समृद्ध र सुखी बनाउने अभियानमा सरकार लागेको छ ।”
चीनले ‘एक क्षेत्र एक मार्ग’ अभियानमार्फत यातायातको माध्यमबाट चमत्कारी विकास गर्न खाजेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालले पनि चीनबाट सिकेर मुलुकको विकास गर्नसक्नु पर्नेमा जोड दिए । कार्यक्रममा समितिका अध्यक्ष होमप्रकाश अधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आफूहरुले आलोपालो प्रणाली तोडेर निजी कम्पनीमा गएको बताए । समितिमा ५१ वटा यातायात व्यवसायी कम्पनी आबद्ध रहेका छन् ।