काठमाडौं: निरन्तर ओरालो लागीरहेको शेयर बजारका ठुला लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनशन सुरु गरेका छन् ।
राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै शेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कार्यालयको मूलगेटमै अनशन शुरु गरेका हुन् ।
अनशनरत लगानीकर्ताले तत्काल विशेष कार्यक्रम ल्याएर भएपनि शेयर कारोबारलाई सहज नबनाए देशभरका शेयर लगानीकर्ताहरु आमरण अनशन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले पहिलोक्लिकलाई बताए।
शेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि शेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन् ।
नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाई छ ।
समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।
यसअघि शेयर लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेप्सेमा ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ ।
समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पु¥याउनुपर्ने लगायतका १० बुंदे माग राख्दै अनशन शुरु गरेको हुन्।
समूहले शेयर बजारलाई सहज बनाउने अभियानमा साथ दिन देशभरका शेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान समेत गरेको छ ।