काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्नेक्रम आज मंगलबार पनि रोकिएन । मंगलबार नेप्से परिसूचक शुन्य दशमलब ५० अंकले घटेर १ हजार २०५ दशमलब ९३ अंकमा पुगेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से शुन्य दशमलब ०२ अंकले र सोमबार १७ दशमलब ९६ अंकले घटेको थियो ।
नेप्सेमा लगातार पहिरो जाँदा लगानीकर्ताहरु निराश भएका छन् । आज नेप्सेमा सामान्य गिरावट आएपनि कारोबाररकममा भने ठुलो मात्रामा कमि आएको छ ।
आजको कारोबारमा बाणिज्य बैंक, बित्त र बिमा बाहेक सबै समूहका नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक सबैभन्दा बढी उत्पादनमूलक समुहको ७० दशमलब ५२ अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४ हजार ४९३ कारोबारबाट २८ करोड ७९ लाख रुपैयाँ बराबरका ५ लाख ४८ हजर ३३३ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सोमबार ४१ करोड ४ लाख रुपैयाँ बराबरका १० लाख ९७ हजर ०६७ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शुन्य दशमलब १३ अंकले बढेर २५४ दशमलब ०६ अंकमा पुगेको छ ।