काठमाडौँ: चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ ।
मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले प्रस्तुत गरेका नीतिमा चालु आवका मौद्रिक नीतिमा सफलता प्राप्त भएको देखाएको हो ।
गभर्नर डा नेपालका अनुसार विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने प्रक्षेपण रहेकोमा जेठ मसान्तमा वार्षिक विन्दुगत वृद्धिदर १७ दशमलब ७ प्रतिशत छ । मौद्रिक क्षेत्रबाट प्रवाह हुने कुल आन्तरिक कर्जा २७ दशमलब ८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा यस आवको जेठ मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २८ दशमलब ३ प्रतिशत छ ।
निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको प्रक्षेपित वार्षिक वृद्धिदर २० प्रतिशत रहेकामा जेठसम्म उक्त कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २१ प्रतिशत छ भने यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ प्रतिशत ६ प्रतिशतले वृद्धि भएको छ ।
परिमार्जित ब्याजदर करिडोर लागू गरेपछिको अवधिमा अल्पकालीन ब्याजदर नीतिगत दरको रुपमा रहेको ५ प्रतिशत रिपो रेट (दर) वरिपरि अंकुशित हुँदै आएको गभर्नर डा नेपालले जानकारी दिए ।
यस आवको जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४ दशमलब ३८ प्रतिशत र वाणिज्य बैंकबीचको भारित औसत अन्तर–बैंकदर ४ सशामलब १८ प्रतिशत रहेका छन् । दीर्घकालीन प्रकृतिका ब्याजदरको हकमा वाणिज्य बैंकहरुको भारित औसत निक्षेप दर २०७५ जेठमा ६ दशमलब ६१ प्रतिशत छ । यसैगरी, उक्त अवधिमा कर्जाको भारित औसत ब्याजदर १२ दशमलब ४२ प्रतिशत पुगेका कारण कर्जा र निक्षेपको ब्याजदर अन्तर ५ दशमलब ८१ प्रतिशत कायम भएको छ ।
यस बैंकले परिमार्जित ब्याजदर करिडोर लागू गरेपछि सोअन्तर्गत असार २६ गतेसम्म पटक–पटक गरी ५ प्रतिशत रिपो दरमा ६९ अर्ब ७२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ भने ३ प्रतिशत निक्षेप संकलन दरमा ३८ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
ब्याजदर करिडोरका अतिरिक्त राष्ट्रबैंकले सोभैm खरिद तथा बिक्री बोलकबोल र रिपो तथा रिभर्स रिपो बोलकबोल जस्ता खुला बजार उपकरणमार्पmत तरलता व्यवस्थापन गर्दै आएको छ । खुला बजार कारोबारअन्तर्गत यस बैंकले ३७ अर्ब ६२ करोड तरलता प्रवाह गरेको छ भने १३५ अर्ब ५० करोड तरलता प्रशोचन गरेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थालाई ३८ अर्ब ३३ करोडको स्थायी तरलता सुविधा उपलब्ध गराएको छ ।
यस आवको असार २६ गतेसम्म वाणिज्य बैंकबाट अमेरिकी डलर चार अर्ब एक करोड खुद खरिद गरी चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको छ । सोही अवधिमा परिवत्र्य विदेशी मुद्रा बिक्री गरी चार खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ ।
यस आवको असार २५ गतेसम्ममा वाणिज्य बैंकले ११ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले ४८ अर्ब ६२ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् ।