वीरगञ्ज: हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखाएको हो।
रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालका अनुसार यो प्रारम्भिक अध्ययनको तथ्याङ्क मात्रै हो ।
नेपालका अनुसार आज पनि स्वयंसेवकहरु परिचालन गरेका छौँ, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ आशा छ। यता प्रमुख जिल्ला अधिकारीले भने क्षती यकिन विवरण आउन आझै बाँकी छ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण संकलन भइरहेको बताए ।
‘रेडक्रसले प्रारम्भिक विवरण संकलन गरिसकेको छ,’ उनले भने ‘पूर्ण, आंशिक र सामान्य क्षति कति कति हो भनेर छुट्याउनै बाँकी छ । आवश्यकता अनुसार राहत वितरण र तथ्याङक संकलन संगसँगै गर्छौं ।’
बाराको फेटा गाउँपालिका वडा नं १ र कलैया–१८ मा पर्ने भलुही भरवलिया गाउँमा बढी क्षति भएको पुगेको छ ।
फेटा गाउँपालिका वडा नं ३ पुरैनियाँ गाछीटोल र वडा नं ६ पुरैनिया टोलमा मानवीय एवं भौतिक क्षति बढी देखिएको छ । पर्सा जिल्लामा भने कमै क्षति पुगेको छ ।