काठमाडौं : नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ ।
यो ट्रेजरी २०७६ साल असार २४ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७६ असोज २१ गते परिपक्क हुने छ । साथै, १ वर्ष अवधिका लागि जारी हुने ६ अर्ब रुपैयाँको ट्रेजरी २०७६ चैत २५ गते परिपक्क हुनेछ ।
यस अघि चैत १८ गते केन्द्रीय बैंकले ११ अर्ब ६८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार त्यसबेला २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको, ९१ दिनको १ अर्ब रुपैयाँको, १ सय ८२ दिनका लागि ३ अर्ब रुपैयाँको र एक वर्षको लागि ४ अर्ब ३६ करोड रुपैयाँको ट्रेजरी जारी भएको थियो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।