काठमाडौँ: नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि ६० प्रतिशत क्षेत्रमा सर्भे सकिएको छ । कोर नेटवर्कका लागि उपकरणको आयात पनि सुरु भएको छ ।
टेलिकमले आउँदो १० महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने जनाएको छ ।
फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।
उनीहरुले फोरजी विस्तारका लागि हाल सर्वेक्षणको काम तीव्र पारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।फोरजी एलटिइ संचालनकको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ। फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहुँचमा सजिलै पुग्ने टेलिकमले जनाएको छ।
हाल अधिकतम डाटा स्पिड ३२ एमबिपिएस रहेकोमा टेलिकमले नयाँ परियोजनामार्फत क्षमता विस्तार गरी एक सय ३० एमबिपिएसको स्पिड दिन सक्ने छ।
फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक बर्षभित्र संचालनमा ल्याउनु कम्पनीको लागि चुनौतीको विषय रहेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। टेलिकमले बिहीबार पत्रकार सम्मेलन गर्दै कोर नेटवर्कको लागि चिनीयाँ कम्पनी जेडटिइ कर्पोरेशनसँग सम्झौता भएको बताइन्।