काठमाडौँ: सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट ७७ परियोजनामध्ये ३१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ। कूल २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ।
२६ वटा परियोजना ‘शोकेश’ मा भएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो।
पत्रकार सम्मेलन आयोजना गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उत्साहजनक रुपमा प्रस्ताव आएको बताउँदै प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए।
सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५ आयोजनालाई ‘शोकेश’ मा राखेका थिए। शोकेशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, शहरी पूर्वाधारमा चासो व्यक्त गरेका छन्।
बोर्डका अनुसार कृषि पूर्वाधारतर्फ सात वटा परियोजनाका लागि प्रस्ताव आएको छ। त्यसमा उर्लाबारी, हेम्जा, बनेपा र चितवन, वीरेन्द्रनगर र तिलोत्तमामा एकीकृत कृषि पूर्वाधारका लागि प्रस्ताव परेका हुन्।
स्वास्थ्य तथा शिक्षमा धुलिखेल मेडिसिटी र गण्डकी टेक्निकल विश्वविद्यालयका लागि समान एक/एक प्रस्ताव परेका छन्। ऊर्जातर्फ ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजनाका लागि दुई वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए।
पश्चिम सेती ७५०, एसआर ६ ९२७, सुनकोशी दोस्रो एक हजार ११०, सुनकोशी तेस्रो ५३६, तल्लो अरुण एक हजार ३०० र ५५० मेगावाट क्षमताको सौर्य परियोजनाका लागि समान एक/एक वटा प्रस्ताव आएका छन्।