काठमाडौँ: नेपाल आयल निगमले मापदण्ड संशोधन गरेर पेट्रोल पम्पको लाइसेन्स खुला गरेको छ ।
पेट्रोल पम्प संचालन सम्वन्धी विक्रेता विनियमावली संशोधन गरेर नयाँ पम्पका लागि लाइसेन्स खुला गरिएको हो । विक्रेतामा नियुक्त हुन चाहने फर्म/कम्पनी/संगठित संस्थाले निगमको विक्रेता विनियमावली २०७५ को परिच्छेद- २ विनियम (४) बमोजिम दुई महिना (६० दिन) भित्र आवेदन दिन सकिन्छ ।
सोही विनियमावलीको विनियम ५ बमोजिम निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को अनुसुची १ बमोजिमको ढाँचामा निगमको कार्यालयहरुमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेता वीचको विक्री स्थलको दुरी कम्तीमा ३ सय मिटरको दुरीमा हुनुपर्नेछ। तर पुर्व पश्चिम राजमार्गको हकमा भने उक्त दुरी पाँच सय मिटर बाहिर हुनुपर्नेछ। प्याक्ट विक्रेताको हकमा नमुना पम्प विक्रेताको विक्री स्थलभन्दा कम्तीमा पाँच किमी बाहिर हुनुपर्छ। एउटा नमुना पम्प विक्रेताको विक्रीस्थलबाट अर्को पम्पको दुरी १० किलोमिटर र उक्त स्थलमा मट्टितेल विक्रेता बाहेक अन्य कुनै विक्रेतालाई नियुक्ती नदिने नयाँ मापदण्डमा उल्लेख छ।
तर नमूना पम्प विक्रेताले प्रमाणपत्र पाउनुअघि स्थापना भएका विक्रेताहरुको हकमा भने यस्तो व्यवस्था लागु नहुने निगमले जनायो। नमुना पम्प निगमले करिव दुई बर्ष अघि परिकल्पना गरेको थियो। नमूना पम्पका लागि तराई र मधेशमा एक विघा जमीन हुनुपर्ने प्रावधान छ। हिमाल र पहाडमा ५ रोपनी हुनुपर्नेछ। यो पम्प २४ सै घण्टा संचालन गर्नुपर्नेछ। पुरानो डिस्पेन्सिङ मेसिन जडान गर्न नपाइने निगमले जनायो।