काठमाडौँ : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि बिकास बैंकले सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको श्री जनता माध्यमिक बिद्यालयलाई विभिन्न सामग्री सहयोग स्वरुप प्रदान गरेको छ ।
जनता माध्यमिक बिद्यालयको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६को अवसरमा बैंकले बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्रि कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पंखा लगायतका बिद्युतिय सामाग्रीहरुका लागि ९,७५,००० रुपैयाँ बरावरको आर्थिक सहयोग गरेको हो ।
उक्त अवसरमा शैक्षिक बिकासमा महत्वपुर्ण सहयोग पुर्याए बापत बैंकलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले सम्मान तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, राजपा सांसद चन्द्रकान्त चौधरीले समेत कृषि विकास बैंकले उपलव्ध गराएको सहयोगको सराहना गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कृषि बिकास बैंकका सीईओ उपाध्यायले बैंकको क्षेत्रिय कार्यालय राजबिराज तथा अन्तर्गतको शाखा कार्यालय बोदेबर्साईनबाट आयमूलक कार्यक्रमका लागि नेपाल सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत संचालन भएको बिनाधितोको अनुदान मूलक कर्जा कार्यक्रमा सम्बद्ध बिभिन्न महिला समूहहरुसंग छलफल गर्नु भएको थियो ।
उक्त अन्तरकृयामा बैंकको शाखा संचालन बिभागका बिभागिय प्रमुख अजय कुमार रिमाल, क्षेत्रिय कार्यालय राजबिराजका निर्देशक घनेन्द्र अधिकारी, शाखा कार्यालय लहान, शाखा बोदेबर्साईनका प्रबन्धक तथा अन्य कर्मचारहिरुको समेत उपस्थिती रहेको थियो ।
उक्त क्षेत्रमा गठन भएका २६ वटा महिला समूहमा आबद्ध करिव ३६५ महिलाहरुमा बाख्रापालन ब्यबसायका लागि बैंकबाट सहुलियतपूर्ण कर्जा कार्यक्रम अगाडि बढिरहेको छ ।