काठमाडौँ: न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।
म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो।
भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले ५९ बलमा ४ चौका र ४ छक्का हिर्काए। उनले महेन्द्रसिंह धोनीसँग सातौं विकेटका लागि ११६ रनको साझेदारी गरे। जडेजा ४८ ओभरको पाँचौ बलमा आउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।
४९ ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनी ५० रनमा रनआउट भए। त्यसपछि न्युजिल्यान्ड खेलमा हाबी देखिएको थियो। २ रन लिने क्रममा धोनीलाई न्युजिल्यान्डका मार्टिन गुपटिलले डाइरेक्ट हिटमार्फत रनआउट गरेका थिए।
भारतका ओपनरद्वय लोकेश राहुल र रोहित शर्मा १-१ रनको झिनो स्कोरमा आउट भएका थिए। कप्तान विराट कोहली पनि १ रनमै पेभिलियन फर्केका भारत सुरुवातमै दबाबमा परेको थियो।
दुवै ओपरनलाई न्युजिल्यान्डका माट हेरनीले विकेटकिपर टम लाथमबाट क्याच गराएका थिए। कोहलीलाई ट्रेन्ट बोल्टले एलबिडब्लूको धरापमा पारेका थिए।