काठमाडौँ: निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ।
विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य तय गरिएको थियो । यसअघि डिसेम्बर २०१७ मै सकिनु पर्ने आयोजनाको अवधि १८ जुन २०१८ लाई सारिएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २८ जुन २०१९ पु¥याइएको थियो । अहिले तेस्रो पटक समय तथ भएको छ ।
आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
“आगामी पुससम्म सबै काम सक्ने योजनाका साथ काम भइरहेको छ, अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी बे’ को निर्माण भइसकेको छ। अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटिङ’ को काम मात्र बाँकी भएकाले त्यो पनि छिट्टै सक्ने गरी काम अघि बढाइएको छ”, उनले भने।
विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ। विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ।