काठमाडौँ: देवः विकास बैंक लिमिटेडले दाङ्ग, कपिलवस्तु र बाँकेमा कार्य क्षेत्र रहेको वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आजदेखि विधिवत एकिकृत बैकिङ्ग कारोबार शुरु गर्दैछ।
यही आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको हो ।
बैंकको एकिकृत बैकिङ्ग कारोवारको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालबाट सोमबार गर्नु हुनेछ।
वेष्टर्न डेभलपमेन्ट बैंक लि.लाई प्राप्ति गरे पश्चात् देवः विकास बैंक लि.को चुक्ता पूँजी ३ अर्ब १८ करोड पुग्नेछ , जुन विकास बैंकहरु मध्येमा सबैभन्दा बढी चुक्ता पूँजी हुनेछ।
चुक्ता पूँजीको आधारमा सबैभन्दा ठुलो विकास बैंकको रुपमा रहने देवः विकास बैंक लि.को एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम रु. २२ अर्व ९२ करोड र कर्जा २० अर्ब ४३ करोड पुग्नेछ भने ७७ वटा शाखा सञ्जाल रहनेछ ।
एनडिइपी डेभलपमेन्ट बैंक लि.ले चितवन, नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राइजिङ्ग डेभलपमेण्ट बैंक लि.सँग मर्जर गरे पश्चात् देवः विकास बैंक लि.को नामबाट मिति २०७२ आषाढ २५ गतेबाट एकिकृत कारोवार शुरु गरेको थियो ।
त्यसपछि राष्ट्रियस्तरको युनियन फाइनान्स लि. र कैलाली, कञ्चनपुर र डोटीमा कार्य क्षेत्र रहेको साझा विकास बैंक लि.लाई प्राप्ति गरी मिति २०७४ कार्तिक २३ गतेदेखि एकिकृत बैंकिङ्ग कारोवार गरेको थियो ।
वेष्टर्न डेभलपमेन्ट बैंक लि.को प्राप्ति पश्चात् बैंकको संचालक समितिमा देवः विकास बैंक लि.कै साविक संचालक समिति नेपाली सेनाका उपरथी बज्र गुरुङ्ग (अ.प्रा)ं को अध्यक्षतामा रहनेछ भने प्रमुख कार्यकारी अधिकृतमा देवः विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठ रहनेछ ।
