काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा साना तथा मझौला उद्योगहरुको अन्तर्राष्ट्रिय संगठन वुस्मेको राजदूतमा नियुक्त भएकी छन् ।
गत जुन २४ मा बसेको वर्ल्ड यूनियन अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (वुस्मे)को बैठकले नेपालका लागि सद्भावना राजदूतमा राणालाई नियुक्त गरेको हो ।
वुस्मेको विशेष कमिटिले मे २९ मा नेपालका लागि उनलाई राजदूतमा सिफारिस गरेकोमा जुन २४ को बोर्ड बैठकले स्वीकृत गरेको हो ।
वुस्मे, अन्तर्राष्ट्रीय गैरनाफामूलक संगठन हो । यसले आधुनिक लघु उद्यम र शिल्पको संरक्षण र सम्बद्र्धन गर्दछ । वुज्मेले लघु तथा मझौला उद्योगको माध्यमले देश विकासका लागि ड्राइभिङ बलको रूपमा काम गर्ने र यसबाट समाजको समावेशी विकास तथा सामाजिक प्रगति उच्च तहसम्म पुग्ने मान्यता रहिआएको छ ।
साथै, यसले ज्ञान, अनुसन्धान र नवीनतम प्रणालीको पदोन्नतिका लागि पनि काम गर्दछ । उद्यमी र उद्यमको माध्यमले पारम्परिक ज्ञानसँगै नयाँ डिजिटल औद्योगिकिकरणसँग साक्षात्कार पनि गराउँछ ।
राणाको नियुक्तिसँगै नेपालको साना तथा मझौला उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न ढोका खुलेकोमा छ ।