काठमाडौं : नेको इन्स्योरेन्सले भदौं १४ गते साधारण सभा बोलाएको छ।
लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्स सञ्चालक समितिको साउन १० गते बसेको ३७३ औं बैठकले भदौं १४ गते २३ औं वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभाबाट बोनस शेयर १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार रुपैयाँ र कर प्रयोजनको लागि ०।६३ प्रतिशत अर्थात ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ कायम छ । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याइसकेको इन्स्यारेन्सको लाभांश वितरणपछि चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनको लागि इन्स्यारेन्सले भदौ ३ गते शेयर दाखिला खारेज गर्ने भएको छ। त्यस अनुसार भदौ २ गतेसम्म कायम शेयरधनीले मात्रै बोनस लाभांश पाउनेछन्।
यसैबीच एनएमबी बैंकले पनि मर्जरबारे अन्तिम निर्णय गर्न साउन २८ गते विशेष साधारण सभा आह्वान गरेको छ।
ओम डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गराउन तथा सभामार्फत बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्नका लागि साधारण सभा डाकेको हो ।
विशेष साधारण सभाले मर्जर सम्झौता प्रतिवेदन, सम्झौता तथा निर्णयरु पारित गर्ने, डिडिए रिर्पोटबाट प्राप्त भएको स्वाप १००ः७६ लाई स्वीकृती प्रदान गर्ने, तथा लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रहेको छ ।
यस्तै बैंकले ग्राहकलाई सेवा सुविधा थप गर्ने क्रममा नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलाल (स्टक ब्रोकर) सम्बन्धि व्यवस्था थप गर्ने विशेष प्रस्ताव रहेको छ ।
सभाले ओम प्राप्ती पश्चात बैंकको पूँजी वृद्धि हुने हुँदा बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र नियामकिय निर्देशन अनुरुप गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का रहेकाले सो भन्दा अघिल्लो दिनसम्म कारोबार भई साउन २० गतेसम्म शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका बैंकको शेयरधनीहरुले मात्र विशेष सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।
एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।