काठमाडौं: आगलागीका कारण सुबिसुको केवल(क्लियर) टिभी देशव्यापी रुपमा अवरुद्ध भएको छ।बालुवाटार चोकमा रहेको इन्टरनेट सेवा प्रदायक सुबिसुको कार्यालयमा बुधबार दिउँसो आगलागी भएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले आगलागीका कारण देशब्यापी रुपमै केवल टिभी अवरुद्ध भएको बताए।‘आगलागीका कारण केवल टिभी भने अवरुद्ध भएको छ। इन्टरनेट भने केही स्थानमा अवरुद्ध भएको छ। हाम्रो टीमले प्राविधिक रुपमा हेरिरहेको छ’ उनले बिजमाण्डूसँग भने,’आगलागीबाट भएको क्षति बारे अध्ययन भइरहेको छ।अहिलेसम्म हामीले पनि पूर्ण रुपमा सामानको क्षति यकिन गरिसकेका छैनौ।’
उनका अनुसार इन्टरनेटको भने ९० प्रतिशत समस्या समाधान भइसकेको र वालुवाटार क्षेत्रमा मात्रै समस्या बाँकी छ। पराजुलीले वालुवाटार क्षेत्रमा पनि विहिबारसम्म इन्टरनेट सुचारु हुने जानकारी दिए। यता नेपाल दूरसंचार प्राधिकरणले भने सुबिसुमा भएको क्षतिको विवरण कम्पनीले उपलब्ध गराइनसकेको बताएको छ।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले क्षतिको विवरण प्राप्त नभएको बताए।
करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भ भएकै स्थानमा आगलागी भएका कारण कार्यालय पूर्ण रुपमा क्षति भएको छ।केवलको अर्थ स्टेशन समेत त्यही भएकोले केवल टिभी अवरुद्ध भएको हो।
आगोलाई नियन्त्रणमा लिन जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभिएसन रेस्क्यु एन्ड फायर सर्भिस्, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र परिचालन गरिएको थियो।