काठमाडौं: स्वदेशी उद्योगीनै सक्षम भइसकेको भन्दै सिमेन्टमा विदेशी लगानीमा रोक लगाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार उद्योगमन्त्री मातृका यादबसहित सरोकारवालासँग गरेको छलफलमा विदेशी लगानी तत्कालै रोक्नुपर्ने माग गरे।
संघका अध्यक्ष ध्रुब थापाले स्वदेशी लगानीकर्तानै सिमेन्ट उद्योगमा लगानी गर्न सक्षम रहेको र माग भन्दा बढी उत्पादन भइसकेकोले विदेशी लगानी रोक्नुपर्ने बताए।
उनका अनुसार अहिले वार्षिक १ करोड टन सिमेन्टको माग छ। तर अहिले भएका उद्योगको क्षमतानै १ करोड ५० लाख टन छ। चिनियाँ लगानीको होङसी शिवम सिमेन्ट आएपछि स्वदेशी उद्योगीले विदेशी लगानी आवश्यक नरहेको भन्दै लविङ गर्दै आएका छन्। अहिले मुलुकभित्र झण्डै ६० उद्योग छन्।केही ठूला लगानीमा अरु सिमेन्ट उद्योग पनि थपिने क्रममा छ।
अहिले स्वदेशी लगानीका उद्योगलेनै क्षमता विस्तार गरेर सिमेन्ट उत्पादन गरिरहेका छन्।पछिल्लो समयमा चिनियाँ लगानीकै हुवासिन सिमेन्टले पनि उद्योगको पूर्वाधार बनाइरहेको छ।