काठमाडौं ः सेयर बिक्री गरेपछि ब्रोकर कार्यालयसम्म पुगेर ल्याप्चे लगाउनुपर्ने झन्झटिलो प्रणाली अन्त्य हुँदैछ ।
धितोपत्र बोर्डले नेप्से र सीडीएसलाई अनलाइन प्रणालीबाटै सेयर बिक्री मूल्यको रेकर्ड राख्ने व्यवस्था गर्न निर्देशन दिएपछि एक साता भित्रै सेयर लगानीकर्तालाई सहज हुने भएको छ ।
बोर्डले आइतबार सीडीएसलाई औचारिक रुपमा पत्र समेत काटेको छ ।
यता, सीडीएसले पनि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्न र सोही अनुसार बिक्री मूल्यको रेकर्ड राख्न सक्ने सफ्टवेयर प्रणाली बनाइरहेको छ ।
सीडीएसका अनुसार यस्तो सफ्टवेयर तयार भइसकेको छ । अहिले टेस्टिङ पनि भइरहेको छ ।
टेस्ट सम्पन्न भएपछि यो प्रणालीमा कार्यान्वयनमा ल्याइनेछ ।
यो प्रणालीको विकाससँगै अब लगानीकर्ताले सीडीएससीको मेरो सेयर सफ्टवेयरबाटै सेयर बिक्रीको मूल्य रेकर्डमा राख्न सक्नेछन् । भारित औसत लागत विधिबाटै लाभकर गणना हुनेछ ।
ब्रोकरले पनि सोही विवरण पाउनेछन् । सेयर बेचेपछि लागत मूल्य तोकेर ल्याप्चे लगाउनुपर्ने झन्झट पनि समाप्त हुनेछ ।
यता, धितोपत्र बोर्डले पनि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्न सकिने तथा यसका लागि नयाँ व्यवस्था गर्नुनपर्ने सुझाव अर्थ मन्त्रालयमा पेश गरेको छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले लगानीकर्ताले सेयर बेचेपछि ल्याप्चे लगाउन ब्रोकर कार्यालयसम्म जानु नपर्ने बताए ।
सफ्टवेयरबाटै लागत हिसाब गर्नका लागि प्रणाली विकास गर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले काम गरिरहेको गिरीले जानकारी दिए । मेरो सेयरको प्रणालीमा नयाँ अप्सन थप गर्न लागिएको हो ।
कुनै कारोबारमा यदि लगानीकर्ताले खरिद मूल्य पेश गर्न नसकेमा भने एक सय रुपैयाँलाई आधार मूल्य ताकेर लाभकर गणना गरिनेछ ।