काठमाडौं ः आशा लघुवित्त वित्तीय संस्थाले १२% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२% बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनसमा लाग्ने कर तिर्न लगानीकर्ताले ०।६३१% नगद लाभांश पनि पाउनेछन् ।
कम्पनीले २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस सेयर र १३ लाख ९ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
यो लाभांश नियामक राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।
हाल आशाको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
यसैबीच नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १५% नगद लाभांश दिने भएको छ ।
कम्पनीको हिजो शनिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५% नगद दिने निर्णय गरेको हो ।
यस्तै, कर तिर्न ३ लाख ९३ हजार २४५ रुपैयाँ बराबर नगद पनि दिनेछ ।
७४ लाख ६६ हजार ६७० रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल एग्रोले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा छ ।